प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ सम्बन्धमा सरोकार भएकाहरूले राखेको चासोप्रति आफू गम्भीर रहेको बताएका छन् ।
आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वको टोलीबाट ध्यानाकर्षण पत्र बुझ्दै उनले प्रमुख सरोकार भएका पत्रकार नै आन्दोलित हुने अवस्था हुँदाहुँदै विधेयक अघि बढ्दा समस्या हुने बताए ।
मुख्यमन्त्री कार्कीले न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेस भएको विधेयक प्रेसमैत्री नभएको विषयमा ध्यानाकर्ष भएको र आवश्यक छलफल गरेर मात्रै थप प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले चालु अधिवेशनबाट विधेयक पारित हुने सम्भावना कम रहेको बताए ।
मुख्यमन्त्री कार्कीले भने, विधेयक प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले पत्रकार आन्दोलित भएको अवस्थामा अघि नबढाउनका लागि मैले आवश्य पहल गर्नेछु । संसद्भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकाले अन्य दलसँग समेत छलफल गरेर अगाडि बढ्न छौँ ।
उनले प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नका लागि यसअघि स्थापना गरिएको सञ्चार प्रतिष्ठान तत्कालीन सरकारले खारेज गर्दा महासङ्घसहितका पत्रकार सङ्गठनले विरोध नजनाएकामा गुनासो व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेश सरकारमा आएदेखि नै पत्रकारहरूको एउटा दर्विलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुनमार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप विधेयक ल्याइएको धारणा राखे ।
पत्रकार महासङ्घले समाचार लेखेकै आधारमा पत्रकारलाई रु एक लाखसम्म दण्ड जरिवाना गर्ने, प्रेस रजिस्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्नेजस्ता व्यवस्थासहित प्रदेशसभामा पेस भएको विधेयकप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया