चथाः चखः

नेवाःहरु विशेष गरेर धेरै चाड मनाउने जाति हो । हरेक केही दिनमा एउटा चाड आउने गर्दछ । तर चाडलाई नेवारी भाषामा नखः भनिए पनि चाड दुई प्रकारका हुन्छन् । विशेष चाडहरूमा विवाहित छोरीहरूलाई पनि बोलाएर मनाउने र परिवारका सदस्यहरू मात्र बसेर मनाउने । छोरी ज्वाइँ सहित बोलाएर मनाउने चाडलाई नखः भनिन्छ । भने परिवारका सदस्यहरू मात्र बसेर मनाउने साधारण चाडलाई चखः भनिन्छ । चथाःलाई भने परिवारका सदस्य मात्रै बसेर मनाउने भएको हुँदा चखः भन्ने गरिन्छ ।
नेवाहरू आफ्नो धर्म र संस्कृति प्रति विशेष माया गर्ने हुन्छ । तसर्थ विभिन्न नखः चखः मनाउने गर्दछ । वर्ष भरि नै केही न केही नखः चखः मनाइरहेकै हुन्छ । नेवाःहरु निकै धार्मिक हुने गर्छन् । एउटा पर्व नसकिँदै अर्को पर्वको तैयारीमा लाग्दछन् । भाद्र शुक्ल चतुर्थीको रात नेवाहरू चथाः पूजा गर्ने गर्दछन् । चथाः पूजा दिनमा गरिँदैन, यो रातमा मात्र गरिन्छ । यो पूजा सँगै दसैँ आउन लागेको सूचक पनि यसैलाई मानिन्छ । नेवाःहरूको मान्यता छ चथाःमा मौसम सफा भए दसैँमा पनि मौसम सफा हुन्छ । चथाःमा पानी परेमा दसैँमा पनि पानी पर्दछ । साथै जति रमाइलोसँग चथाः मनाइन्छ त्यति नै रमाइलोसँग दसैँ मान्न पाइन्छ भन्दै नेवाहरू विशेष किसिमले पूजा गर्दै चथाः मनाउँछन् ।
हुन त यसै दिन गणेश चतुर्थी पनि हो । यस दिन गणेशको जन्म भएको मान्यता छ । यसैले पनि विशेष रूपले गणेशको पूजा गर्ने गरिन्छ । नेवाःहरु पनि यसै चौथीको दिन मनाइने भएको हुँदा यस पर्वलाई चथाः भनिएको हो । आगँद्यः (आगन देवता), दिगुद्यः (कूल देवता) तथा चथाःद्यः (चन्द्रमा)को पूजा गरिन्छ । राती चन्द्रमाको पूजा गरिए पनि चन्द्रमालाई हेर्न हुँदैन भन्ने मान्यता छ । यदि चथाःको रात चन्द्रमा हेरेमा चोरीको दोष लाग्न सक्दछ भन्ने मान्यता रहेको छ । यसका पछाडि दुई वटा कथा प्रचलित छ ।
पहिलो कथा अनुसार बाबु शिवजीले शिर काटेर पून पछि हात्तीको शिर जोडी जीवित भए पछि आमाबाबुका साथ विश्व परिक्रमामा निस्केका गणेशलाई देखेर चन्द्रमाले खिस्याए झैँ गरी मन्द मन्द मुस्काइ हेरिहेका थिए । यो देखेर गणेशले भाव बुझि चन्द्रमालाई श्राप दिँदै भने सधैँ छायाँ परिरहोस् भने । यसपछि सूर्यको प्रकाश बिना चन्द्रमा कालो हुन थाल्यो । यो देखेर चन्द्रमाले क्षमा मागे । बाबुले पनि क्षमा गरिदिन आग्रह गरेपछि गणेशले चन्द्रमालाई एक शर्तमा क्षमा दिन राजी भए । सूर्यको प्रकाशले एक दिन पूर्ण प्रकाशले युक्त हुनेछौ । साथै भाद्र शुक्ल चतुर्थीका दिन कसैले पनि तिमीलाई हेर्ने छैन कदाचित कसैले हेरेछ भने चोरीको आरोप लाग्नेछ । आरोपबाट मुक्त रहन कृष्ण तथा स्यमन्तकको कथा सुन्नु पर्नेछ । जुन कथामा कृष्णलाई स्यमन्तक मणि चोरेको आरोप लाग्दछ । यसरी चन्द्रमालाई हेर्दा मात्र पनि चोरीको दोष लाग्ने हुँदा चन्द्रमालाई चोर देवताका रूपमा पुज्न थालेको कथन छ । कतिपयले चन्द्रमा हेर्नबाट बच्न साँझ घाम डुबेपछि झ्याल ढोका बन्द गरी बस्ने र भित्रै बसेर पूजा गर्ने गरेको हामी पाउँछौ ।
दोस्रो कथाका अनुसार स्वर्गका राजा इन्द्र आफ्नो आमाको इच्छा अनुरूपको फूल खोज्दै काठमाडौं उपत्यका पुगेको र राती फूल चोर्न पुग्दा मालीले देखेपछि समातेर बाँधेर राखेको भन्ने किंवदन्ती रहेको छ । रातमा इन्द्रले भोक लागेर खान माग्दा राम्ररी नभुटेको साह्रो मकै, भट्ट, केराउ, बकुला, फर्सीको बियाँ, आरुको बियाँ आदि खान दिएको भन्ने मान्यता छ । मिठो खान दिएमा फेरी फेरी चोर्न आएर दुख दिन सक्ने भनेर यसरी साह्रो खाने कुराहरू मात्र दिएको भन्ने जनविश्वास छ । यसैले चथाःपूजाको रात पनि यस्तै सामग्री राखेर पूजा गर्ने गरिन्छ । फूल खोज्न गएको छोरा देवराज इन्द्र रातभर नआए पछि बिहानीपख आमाले खोज्न आउँदा बाँधेर राखेको भेटेपछि आमाले क्षमा मागेपछि काठमाडौं उपत्यकामा बाली लाउने बेलामा पानी पारिदिने बचन लिएर छोडिदिएका थिए भनिन्छ । त्यसैले इन्द्रलाई खूः द्यः(चोर देवता) भन्ने गरिन्छ । साथै यस रात चोर इन्द्रले फूल चोरिरहँदा पनि चन्द्रमाले नदेखे झैँ गरेको हुँदा चोरीको दोष नलाग्ने भन्दै यस रातमा बारीमा फलफूल चोर्न जाने परम्परा पहिले पहिले थियो । तर अचेल छैन । साथै चोरले चोरी रहँदा समेत चुपचाप चन्द्रमाले हेरिरहेको हुँदा चन्द्रमालाई हेर्दै नहेरी उल्टो पूजा गर्ने चलन छ ।
पूजाको लागी चथाःस्वाः (करवीरको फूल), मोहनीस्वाः (दसैँ फूल) तथा लक्ष्मीस्वाः (लक्ष्मी पूजामा चाहिने फूल) सहित रातको समयमा पूजा गरिन्छ । कर्कलो अथवा कमलको पातमा नौ प्रकारको भुटेको गेडागुडी जसमा फसिपु (फर्सीको बियाँ), बःसिपु (आरुको बियाँ), फ्वंसिपु (सिताफलको बियाँ), कःनि (मकै), मुस्या (भट्टमास), छुस्या (गहुँ), बक्ला (बकुलाको बियाँ), केगु (केराउ), ह्याउँ सिम्पु (राजमा) राखिएको हुन्छ । चथाःद्यः रातमा पूजा गरिने हुँदा खूःद्यः लाई पनि पूजा गरिन्छ । त्यसैले यस पर्वको एघारौँ दिनमा ईन्द्रसंग क्षमा माग्दै येँया पून्ही (इन्द्रजात्रा) मनाउने गर्दछन् ।
खूःद्यः (चोर देवता)को पूजा गरिने हुँदा राती कुकुर भुके पछि बल्ल पूजा आरम्भ गरिन्छ । कुकुरको भुकाइ चोर आएको सङ्केत हुने हुँदा यस किसिमको मान्यता रहँदै आएको हो । चथाःद्यः मा खूःद्यः (चोर देवता अर्थात् इन्द्र)लाई पनि पूजा गरिने हुँदा कुकुर भुकेपछि चोर (खूःद्यः) आएको सङ्केत मानेर पूजा थालिन्छ । दोस्रो यस पूजामा चोर देवतालाई पूजा गरिने र चोरलाई मिठो सामग्री चढाउँदा चोर पल्किन्छ भनेर यस पूजामा काँचो लब्सी, तर्रो नासपती, काँचो अदुवा, हरियो खुर्सानी, आरुको बियाँ तथा राम्रोसँग नभुटेको मकै, भुटेको भटमास, भुटेको केराउ आदी चढाइन्छ । तितो, तर्रो, अमिलो खाएपछि दाँत कुँडिएर चपाउन अप्ठेरो हुने र भाग्ने विश्वास गरिन्छ ।
पूजा समाप्त भएपछि परिवारका सदस्य सबै जम्मा भएर समयजी खाने गरिन्छ । यस दिन पूजा गरिने गणेश अन्य गणेश भन्दा भिन्न हुन्छ । सिंह माथि चढेको तथा एउटा मात्रै दाह्रा भएको गणेशलाई पूजा गर्ने चलन छ । नेवाःहरु शैव भएको हुँदा शिवसँग जोडिएका देवदेवीलाई विशेष पूजा गर्ने गर्दछन् । शिव, गणेश, कुमारलाई विशेष पूजा गरिन्छ भने पार्वतीलाई पनि कम नै पूजा गर्ने गरिन्छ । नेवाःहरुले पूजा गर्ने गणेश मुषक वाहन गर्ने तथा लड्डु खाने हुँदैन । नेवाःहरुले पूजा गर्ने गणेशमा बली चल्दछ ।
गणेश चतुर्थी
आजको दिन गणेशको जन्म भएको मान्यता अनुसार गणेश जन्मोत्सव भव्यसँग मनाउने गरिन्छ । गणेश सम्बन्धी आख्यानहरूका अनुसार गणेशको जन्म कोखमा भएको होइन । पार्वतीले मयलबाट मूर्ति सिर्जना गरी द्वारपालका रूपमा राखेकोमा महादेवलाई पनि प्रवेश गर्न नदिए पछि क्रोधले सो द्वारपालको घाँटी काटेर भित्र पसेका थिए । भित्र पुगेपछि पार्वतीले द्वारपालबाट प्रवेशका लागि रोकेन भनेर सोध्दा मैले द्वारपालको घाँटी काटेर प्रवेश गरेको भने पछि पार्वतीले उनी द्वारपाल होइन मेरो पुत्र हो, जीवित बनाइदिन अनुनय विनय गरेपछि तत्कालै जसको शिर भेटिन्छ ल्याउन आग्रह गरेपछि ल्याइएको हात्तीको बच्चाको शिर जोडेर जीवित बनाइदिएको कथा छ ।
हाम्रा आख्यानहरू तथा पुराणहरूमा यसरी वर्णन गरिए पनि गणेशको उल्लेख बैदिककालका वेद्यहरूमा भने कतै छैन । ऋग्वेदमा गणपति शब्दको प्रयोग गरिएको भए तापनि यो सम्बोधन इन्द्रका लागि गरिएको छ । यसपछि विनायकका चार रूप शालकटंकट, कृष्माण्ड– राजपुत्र, उस्मित एवं देवयजनलाई दुष्टआत्माहरुका रूपमा लेखिएको छ । पछि विनायक सम्प्रदायको उदय भएको देखिन्छ । त्यसैले तेस्रो शताब्दीमा आइपुग्दा याज्ञवल्क्यले विनायकलाई बिघ्नकर्ता र अवरोधकर्ताबाट बिघ्नहर्ता र सफलता दिने देवताका रूपमा उल्लेख गरे । अन्तमा छैनौ शताब्दी पछि लेखिएका आख्यान तथा पुराणहरूमा भने गणेशको पूजा गर्न थालिएको तथा गणेशको सबैभन्दा पहिले पूजा गर्नुपर्ने क्रमको सुरुवात गरिएको थियो ।








प्रतिक्रिया