आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुख सरुवा

नेपालखोज २०८२ भदौ ११ गते १५:४०

जनकपुरधाम । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ । सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत छन् ।

सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुईवर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ । सरुवाले कार्यालयको काममा प्रभावकारी रुपमा व्यस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरुको गुनासो छ ।

वर्तमान कार्यालय प्रमुख कापडीले हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान छ तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ तथा तोकिएको स्थानमा गएर काम गर्नुपर्छ भने । उनले भने आफू पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।

सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ ।

सो कार्यालयले निगमको अमलेशगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरुमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्दैआएको छ । सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएको प्रमुख कापडीले जानकारी दिए । ट्र्याकङ्रको ढुवानी खर्च निगमले उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया