नेपालीहरुको समस्या सम्बोधनका लागि एनआरएनए र आईएलओबीच सम्झौता

नेपालखोज २०८२ भदौ ११ गते १६:२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

संघको सचिवालयमा मंगलबार (२०८२ साल भाद्र १० गते तदनुसार २६ अगस्त २०२५ ) स्वीस विकास तथा सहयोग संस्थाको सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकहरूलाई कानूनी परामर्ष, सचेतना अभिवृद्धि लगायतका विषयहरुलाई यस परियोजनाले प्राथमिकतामा राखेर काम गर्नेछ । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

उक्त अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिईएको र यस संस्थाको विश्वब्यापी संजालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकहरुले भोग्नुपरेका समस्या समाधानका लागि यो परियोजनाले सहयोग पुर्याउने बताए । उनले भने नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्, तर विदेशमा उनीहरूले असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव, र एक्लोपनको सामना गर्नुपरेको छ । एनआरएनए सँगको सहकार्यले संस्थागत सुदृढीकरण र मानसिक स्वास्थ्यमा टेवा पुर्याउनेछ । हाम्रो लक्ष्य प्रवासी श्रमिकहरूलाई सुरक्षित, मर्यादित र अधिकारसहितको रोजगारीका लागि प्रणाली निर्माण गर्ने नै हो ।

एनआरएनए–आईसीसी अध्यक्ष डा. केसीले एनआरएनएले आप्रवासी नेपाली श्रमिकहरु तथा गैर आवासीय नेपालीहरुको हक हितका लागि एनआरएनएले सधै बहस तथा पैरवी गरिरहको बताए । उनले भने, हामीले दुई दशक लामो इतिहासमा ९० भन्दा बढी देशमा समन्वय परिषद् स्थापना गरेका छौं जसमा ८०,००० भन्दा बढी पञ्जीकृत सदस्यहरू छन् । सरकारको विश्वासिलो साझेदारको रूपमा, एनआरएनएले प्रवासी श्रमिकहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको छ । यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि एक सुनौलो अवसर हो, जसलाई हामी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्नेछौं ।

एनआरएनकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै विदेशको श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरुका अवसर तथा जोखिमका विषयमा चर्चा गरेका थिए । कोभिड–१९ को महामारीका बेलामा समेत एउटा महत्वपुर्ण परियोजना मार्फत सफलतापुर्वक सहकार्य सम्पन्न भईसकेको र यसका कतिपय असल अभ्यास तथा सिकाईहरुबाट यो दोश्रो सहकार्य तथा साझेदारीता पनि सफलता पुर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको डा केसीले उल्लेख गरे । यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म ९ महिनाको अवधिमा सञ्चालन हुनेछ । कोभिड–१९ महामारीको समयमा दुबै संस्थाले हजारौं नेपाली श्रमिकहरूलाई सहयोग पुर्याएको सफल सहकार्यलाई आधार बनाएर यो कार्यक्रम अगाडि बढाइएको हो । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा आईएलओ नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर, नुमन ओजकान, राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल तथा संचार अधिकृत निष्ठा रायमाझी र एनआरएनएका तर्फबाट अध्यक्ष डा.बद्री केसीका साथै महिला उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकारहरु अतुल कोईराला र हिराधन राई र एनआरएन अभियन्ता बाबा राजेश्वरी थापा र रोविन बज्राचार्यको पनि उपस्थिति रहको थियो । साथै उक्त कार्यक्रममा एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई र संघको सचिवालयका सिईओ राजेन्द्र कुमार राउतका साथै अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सिईओ राजेन्द्र कुमार राउतले गरेका थिए ।

प्रतिक्रिया