पर्वतका ८६ सडक स्तरोन्नति हुँदै

नेपालखोज २०८२ भदौ १२ गते ११:१४

पर्वत । सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोडभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् । जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ ।

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले ३३ करोड प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ ।

यो वर्ष १९ करोड ४५ बजेट घटेको छभने ५० वटा आयोजना कम छन् । विगतदेखि सञ्चालनमा रहेका छवटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ । यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।

यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँचवटा सडकका लागि दुई करोड ७५ लाख विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ ।

प्रतिक्रिया