अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

महोत्तरी । ‘हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,’ (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका-११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भनिन्, ‘आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि’ (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) ।
रचनामात्र होइन, जलेश्वर–८ का शारीरिक अपाङ्गता भएका सात वर्षीय प्रेम बैठा धोबी, जलेश्वर–४ सुगाका चार वर्षीया विवेक महतो, जलेश्वर–७ अन्कारका सात वर्षीय नजाबुल राइन, जलेश्वर–३ मलिवाराका छ वर्षीय साकिव अन्सारी र जलेश्वर–७ महादेवपट्टी बस्तीका १० वर्षीय वीरेन्द्र मण्डल पनि शारीरिक रूपमा अपाङ्गता भएर पनि अब लेखपढ गर्न जान्न थालेका छन् । कुनै जन्मले नै र कतिपय जीवनका विभिन्न घटनामा परी अपाङ्ग भएर घरमै कुँजिएका बालबालिकाका लागि अहिले रतौली युवा क्लबले सञ्चालन गरेको ‘घरमै विद्यालय’ कार्यक्रम वरदान भएको छ ।
क्लबले जिल्लाका जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा सञ्चालन गरेको यो कार्यक्रममा अहिले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई घरमै हेरचाह र पठनपाठन अभ्यास गराउँदै छ । धेरैजसो बौद्धिक अपाङ्गता भएका बोल्न नसक्ने बालबालिका अहिले नियमित अभ्यास र शिक्षकको हेरचाहले लेखपढ गर्न, चित्र कोर्न र जुडो खेल्न जान्ने भएका छन् ।
सन् २०२५ जनवरीदेखि सुरु गरिएको यो कार्यक्रम आउने डिसेम्बरमा एक वर्ष पूरा हुनेछ । त्यसपछि आवश्यकतानुसार अवधि थपिने उनको भनाइ छ । यो कार्यक्रम सञ्चालन गर्न क्लबलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले आर्थिक सहयोग जुटाएको चौधरीले बताए ।
यो कार्यक्रमअन्तर्गत सहयोगी शिक्षक दिनहुँ ‘घरमै विद्यालय’ का बालबालिकालालाई अभ्यास गराउन पुग्छन् । दिनहुँ चार घण्टा आफ्नो विद्यार्थीसँग बसेर उनकै अनुकूलतामा गराइने लेखन तथा वाचन अभ्यासले यस्ता बालबालिकामा निकै सुधार भएको जलेश्वर–११ पिगौनाको वनटोलवाको ‘घरमै विद्यालय’का सहयोगी शिक्षक सजनीकुमारी मण्डल बताउँछिन्।
बोल्दैनबोल्ने छोरी अब घरका परिवारजनलाई नाता लगाएर बोलाउने र शिक्षक पढाएर फर्केपछि पनि कापी कलम लिएर चित्र कोर्ने गरेकी रचनाकी आमा वविताले खुसी हुँदै बताइन् । रचना अहिले लेखपढ र चित्र कोर्ने मात्र नभई व्यक्तिगत आहार व्यवहारमा पनि पोख्त बनेकी देखिन्छ । आफ्ना घर आउने जोसुकै अतिथिलाई नमस्कारको अभिवादनबाट रचना स्वागत गर्छिन् । रचनामा आएको यो परिवर्तनले पिगौनावासी चकित छन् ।
क्लबले सुरु गरेको यो कार्यक्रमलाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन् । आर्थिक रूपले निकै कमजोर भएका परिवारका बालबालिकाले यो कार्यक्रमबाट शिक्षा मात्र नभएर आहार व्यवहार सिक्ने अवसर पनि पाएका राजकीय संस्कृत माध्यमिक विद्यालयका मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेलको प्रतिक्रिया छ ।
यो कार्यक्रम सरकारी अवधारणालाई नै बल पुर्याउन सुरु गरिएको क्लबका कार्यक्रम प्रबन्धक पूजनारायण साहको भनाइ छ । ‘घरमै विद्यालय’ नेपाल सरकारकै अवधारणा रहेको बताउँदै साहले आफ्ना कामले यस्ता कार्यक्रम सञ्चालन गर्न राज्यका निकाय र मधेसका अन्य सङ्घसंस्थालाई उदाहरण बनेको बताए ।
कार्यक्रमप्रति स्थानीय तहका जनप्रतिनिधिले पनि सकारात्मक चासो बढाएका छन् । जलेश्वर–११ का वडाध्यक्ष मनोज साहले अब बन्ने बजेट र कार्यक्रममा यो कार्यक्रम समावेश गर्न पहलकदमी लिने प्रतिबद्धता जनाए । यसैगरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफ्नो गाउँपालिका क्षेत्रभरिका यस्ता बालबालिकाको नयाँ लगत बनाएर कार्यक्रम बनाइने बताएका छन् । रासस

प्रतिक्रिया