पोखराको भीमसेन टोलको मन्दिरमा रहेको भिँ द्यःको मूर्ति

सुनिल उलक २०८२ भदौ १३ गते १७:५६

वि.सं. १८४९ मा स्थापना गरिएको भिँ द्यः (भीमसेन)को मूर्ति हो यो । यहाँको भिँ द्यःको मूर्तिमा पसिना आउँदैन । यो भिँ द्यःको मूर्ति २०३१ सालको पुस २१ गतेको रात चोरी भयो । जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर खोजी कार्य गरिदिन अनुरोध पनि गरियो । तर मूर्ति फेला परेन । टोल छिमेकको अत्यधिक आस्था रहेको हुँदा एउटा विश्वास थियो मूर्ति चोरको ढिलो चाँडो भिँ द्यःले पतन गर्नेछ । टोलका बुढापाकाले शङ्का गरेका दुई व्यक्तिको बिस्तारै पतन हुँदै गयो । आर्थिक रूपले बिग्रँदै गए । बुढापाकाले भन्न थाले, हामीले भने जस्तै भयो, भिँ द्यःले सजाय दिएरै छाडे । बुढापाकाले एउटा सन्तोष त लिए तर चोरी भएको मूर्ति कहिल्यै फेला परेन । पहिलो तस्बिर यही चोरी भएको मूर्ति हो ।

२०३१ सालमा चोरी भए पछि मूर्ति बिना मन्दिरको शोभा हुने कुरै भएन । मूर्तिको स्थानमा नयाँ मूर्ति बनाउन सल्लाह भयो । मूर्तिको तस्बिर कतै फेला परेन । अन्ततः मन्दिरको ढोका माथि रहेको तोरणमा भएको भिँ द्यःको आकृतिमा नै मूर्ति बनाउन निर्णय भयो ।

पोखराका चर्चित मूर्तिकार एवं ढलोटको काम गर्ने स्व. बेखराज शाक्यलाई मूर्ति बनाउन जिम्मा दिइयो यसका लागि सहयोगीका रूपमा कलाकार दुर्गा बराल रहनुभयो । वहाँहरूको मेहनतले तोरणमा भएको जस्तै मूर्ति तैयार भयो । अहिले देखिने बायाँ तर्फको मूर्ति यहीँ नै हो ।

जहाँ नेवाःहरुको बसोबास हुन्छ, त्यहाँ भिँ द्यः पनि हुन्छ । यहाँ पोखरामा पनि पुरानो बजार क्षेत्रमा नेवाःहरु बसोबास गर्न थालेपछि नै भिँ द्यःको स्थापना गरेको हुनुपर्दछ । देवताका रूपमा एउटा कालो ढुङ्गा थियो, जसमा पहिले देखि नै पूजा हुने गर्दथ्यो । पछि बि.सं. १८४९ मा जितारामले मन्दिर बनाइदिए पछि मूर्ति पनि नयाँ राखियो । जुन २०३१ सालमा चोरी भयो र पछि पून अर्को मूर्ति बनाएर राखियो । तर वास्तवमा शक्ति पूजाका रूपमा रहेको कालो ढुङ्गा भने सुरक्षित नै थियो । तर हाल भने वास्तविक रूपमा भिँ द्यः मानेर पुज्दै आएको सो कालो ढुङ्गा भने अचेल देखिँदैन ।

१८४९ मा मन्दिर निर्माण भए तापनि मन्दिरको पूजा र व्यवस्थापनको बारेमा के कस्तो व्यवस्था गरियो भन्ने देखिँदैन । तर विसं. १९०८ मा टोल वरपर बसोबास गर्ने ३४ जना मिलेर भीम द्वादश गुठीको स्थापना गराएका थिए । गौरीनारायण जेठा बुढा नायो भएर गठन भएको गुठीमा बहादुर सिंह, विश्राम जेठा बुढा, बिसनारायण, शंखनारायण, कृष्णराम, हर्षय जेठा बुढा, प्रभुनारायण, धिर्जनारायण, बखत बहादुरसिंह, चन्द्रदेवी, सादेवसिंह, कृष्णचरण, सिद्धिसिंह, रत्नवीर, प्रतापसिंह, मनोरथ, लक्ष्मीनारायण, रामनारायण, गयानरसिंह, भाजुधन, राजनसिंह, दप्रनारायण, शिवरत्न, आनन्द जेठा बुढा, विर्जनारायण, सिमनारायण, उद्धवसिंह, रत्नसिंह, शिवलाल, लक्षुमनवीर, गयाराम, प्रभुनारायण तथा अमृतसिंह रहेका थिए ।

तर पचास वर्षको अन्तरमा गुठीयार बढ्नुपर्नेमा उल्टो घटेर २२ गुठीयार मात्र रहन पुगेको थियो ।

प्रतिक्रिया