लाभग्राही बसेको ठाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण गरिँदै

नेपालखोज २०८२ भदौ १३ गते १८:३०

खोटाङ । ऐसेलुखर्क गाउँपालिकाद्वारा राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालित एकीकृत सेवा शिविरमा ३२० जना सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी गत साउन २७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा र यही भदौ १ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । उनका अनुसार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र तीन जना वडासचिव शिविरमा खटे ।

आफ्ना नागरिकलाई पञ्जीकरणसम्बन्धी सबै सेवा सहज रूपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयानुसार काठमाडौँ र इटहरीमा शिविरमार्फत सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख राईले बताए । वर्षात्को समयमा आफू बसेकै ठाउँमा पुगेर गाउँपालिकाले सेवा प्रदान गरेपछि लाभग्राही हर्षित भएका छन् ।

केपिलासगढी गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा यही भदौ १० र ११ गते दुईदिने शिविरमार्फत सेवा प्रदान गरेको थियो । शिविरमा ४३ महिला र ३८ जना पुरुषको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

उनका अनुसार उक्त शिविरमा ४३ जना सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै मालपोत कर सङ्कलन गरिएको छ । वडाबाट प्रदान गरिने सिफारिसलगायत सेवा काठमाडौँमा पाएपछि नागरिकले खुसी व्यक्त गरेका उनको भनाइ छ ।

रावाबेँसी गाउँपालिकाले यही भदौ ५ र ६ गते सामाजिक सुरक्षाभत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ । शिविरमा तीन सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिरिराज रानामगरले जानकारी दिए ।

प्रतिक्रिया