महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’

नेपालखोज २०८२ भदौ १३ गते १९:५७

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको छ ।

महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नुका साथै कम लागतमा उद्यमीलाई उपभोक्तासम्म पुर्याउन महानगरको महिला, बालबालिका शाखाले आज एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा वस्तु तथा सेवाको बिक्रीवितरण र प्रचारप्रसारका लागि डिजिटल एपको व्यवस्था गरिएको बताउँदै यसबाट यहाँका सात सय ५० भन्दा बढी महिला समूहलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महानगरप्रमुख महर्जनले ललितपुरद्वारा सञ्चालित एलएमसी अलर्टले २२ वटा कामका लागि सहजीकरण गरिरहेको जनाउँदै एपमार्फत काममा सहजीकरण हुँदा जनप्रतिनिधिलाई मध्यरातमा फोन गर्नुपर्ने समस्या अन्त्य भएको धारणा राखे । ‘एकद्वार सेवा प्रणाली लागू हुनुका साथै एपमार्फत सेवा प्रवाह हुँदा सेवाग्राहीले महानगरका कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीहरूको समस्या समाधान गर्ने, उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले यो प्रयास थालिएको बताए । उनले उद्यमीहरूद्वारा सानो परिमाणमा उत्पादित वस्तु तथा सेवालाई सहज रूपमा बजारीकरण गर्न र उद्यमीले उचित प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त गर्न यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया