‘चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन’

नेपालखोज २०८२ भदौ १४ गते ५:५२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

‘सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उनीहरुको सेवा सुविधा बढाउन तिर लागौँ,’ पूर्वमन्त्रीसमेत रहेका उनको भनाइ थियो ।

घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा रु छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

‘म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,’ उनको भनाइ थियो । -रासस

प्रतिक्रिया