बाँझिएको जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती

वालिङ (स्याङ्जा) । यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् ।
विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए ।
कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । ‘बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ’, उनले भने, त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।
खेतीपाती नभएपछि बाँझिएकोे जमिनलाई फाँडेर उहाँले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए ।
एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्, उनले भने गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ । झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गरेका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए ।
यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन, उनले भने, कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।
खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन् । गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन् ।

प्रतिक्रिया