नीति सम्मेलन गर्दै चैतन्य एकेडेमी

नेपालखोज २०८२ भदौ १६ गते १३:४६

काठमाडाैं । चैतन्य एकेडेमीले राष्ट्रिय दायित्वलाई आत्मसाथ गर्दै यही भदौ २७ र २८ गते विभिन्न आठ सत्रसहित नीति सम्मेलन गर्न लागेको छ ।

उक्त संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी सम्मेलनमा राजनीति र सुशासन, अर्थनीति र समावेशी समृद्धि, शिक्षा र संस्कार, समाजशास्त्र र मानव चेतना, कला, साहित्य र संस्कृतिलगायत विषय सेमटिने जनाएको हो ।

काभ्रेको धुलिखेल हुने सम्मेलनमा शासन, सेवाप्रवाह र प्रविधि, परराष्ट्र नीति, दिगो विकास, जलवायु परिवर्तन र हरित अर्थ नीति, आध्यात्म, मानवचेतना विषयमासमेत छलफल हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश जोशीले जानकारी दिए ।

“नेपालजस्तो सङ्क्रमणशील लोकतन्त्रमा स्पष्ट, वैज्ञानिक र संवेदनशील नीतिको खाँचो अझ बढी महसुस हुँदै गएको छ । वर्तमान अवस्थामा यो सम्मेलन नीति निर्माता, कार्यान्वयनकर्ता र सर्वसाधारण नागरिकबीच सेतु निर्माण गर्ने एक सार्थक प्रयास हो” उहाँले भन्नुभयो ।

उक्त संस्थाले विगत १३ वर्षदेखि नीति संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्ने उद्देश्यले नीति सम्मेलनको आयोजना गर्दै आएको जनाएको छ । यही परम्परालाई निरन्तरता दिँदै, यसवर्ष पनि १३औँ चैतन्य नीति सम्मेलन ‘नीतिदेखि समृद्धिसम्म राष्ट्र निर्माणको सार्थक यात्रा’ भन्ने मूलभावका साथ आयोजना गर्न लागेको हो ।

नीति निर्माण, कार्यान्वयन र विश्लेषणसम्बन्धी क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीको सहभागिता हुने सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइने प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो । साथै युवा, महिला, मधेस, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिने र सम्भावना, आशा र सकारात्मकताको सञ्चार मूलमर्मका रूपमा समेटिने बताइएको छ ।
(((

प्रतिक्रिया