इन्द्रजात्रासँग सम्बन्धीत कार्यक्रमहरुको सुरुवात भइसक्याे : काठमाडाैं महानगर

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले धार्मिक, सांस्कृतिक एवं सद्भावको पर्व यँःया अर्थात इन्द्रजात्रासँग सम्बन्धीत कार्यक्रमहरुको सुरुवात भइसकेको जनाएको छ ।
इन्द्रजात्राको तयारीबारे जानकारी गराउन सोमबार काठमाडौंको हनुमानढोका परिसरमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले जात्रालाई भव्यरुपमा मनाउन सवै तयारी गरिसकेको र जात्रासंग सम्बन्धीत कार्यक्रमहरुको सुरुवात समेत भइसकेको जनाएको हो ।
महानगरका अनुसार भाद्र १९ गते बिहीबार १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिने छ । यसपछि जात्राका औपचारिक कार्यक्रम सुरु हुने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
यस वर्ष भाद्र २१ गते तल्लो टोलमा कुमारी रथ यात्रा सुरु हुने र रथ यात्रा सुरु हुनुअघि राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने महानगरले जनाएको छ ।
जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष पनि तान्त्रीक विधामा आधारित नाँचहरु प्रस्तुत गर्ने र पौराणिक कथामा आधारित प्रदर्शन गरिने उनले बताए । त्यस्तै विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए ।
जात्राको गरिमालाई सभ्य र व्यवस्थित सञ्चालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धनको काम गरिरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया