सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

नेपालखोज २०८२ भदौ १६ गते २०:०५

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको छ । पहिरोका कारण बीच बाटोमै रोकिएका यातायातका साधन पहिरो पन्छाए पछि आज अपराह्नदेखि गन्तव्यतर्फ लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य धनगढी– डडेलधुरा (भीमदत्त)राजमार्गको भातकाँडा खण्डमा गएको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो ।

यसैगरी कैैलालीको सहजपुर सडक, बैतडीको झुलाघाट सडक, गिरीगडा सडक र देहीमाडौँ सडक खण्डको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो । सडक अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमै रोकिएका थिए । पहाडी क्षेत्रको मुख्य राजमार्ग डडेलधुरा–दिपायल सडकखण्डको रडुवा खोलामा पहिरो रोकिएको छैन । निरन्तरको वर्षासँगै यहाँ पटक पटक पहिरो जाने र पन्छाएर यातायात सञ्चालन गर्ने क्रम जारी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी दार्चुलाको मलिकार्जुन गाउँपालिका–३ को तेर्सेलेकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । सुदूरपश्चिम प्रदेशमा गत आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सबैभन्दा बढी १९६.४ मिलिमिटर र डडेलधुराको जोगबुढामा ११३.८ मिमि वर्षा मापन भएको छ ।

अन्य क्षेत्रमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जय साहले महाकाली नदीमा जलसतहले आज सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराइएको जानकारी दिए ।

वर्षासँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीको बाढीले झोलुङ्गे पुल नजिकैको बाँध भत्काएपछि कुतियाकवर, शान्ति टोललगायतका बस्तीका ४५ घरधुरी डुबानमा परेका छन् । डुबान प्रभावित परिवारलाई सुरक्षितस्थलमा सारिएको छ ।

जलसतह बढेसँगै महाकाली नदीमाथिको पुलमा भारतीय पक्षले चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विभागले आगामी २४ घन्टा कैलाली र कञ्चनपुर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन र डोटी, डडेलधुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र बाजुरा जिल्लावासीलाई सतर्कता अपनाउन सचेत गराएको छ । -रासस

प्रतिक्रिया