बिहीबार, मंसिर २५, २०८२

को हुन् नेपाल आइडल सिजन–६ विजेता गङ्गा सोनाम ?

नेपालखोज २०८२ भदौ १७ गते १०:०७

गायन रियालिटी शो नेपाल आइडल सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छिन् । आइतबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी नेपाल आइडलको विजेता बन्न सफल भइन् । विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा बबिता थापामगर फस्ट रनर अप बन्न सफल भइन्, जसले नगद १० लाख रुपैयाँ जितिन्। दर्शना गान्धारी सेकेन्ड रनर अप बनिन् र उनले ५ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरिन् ।

को हुन् गङ्गा सोनाम ?

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा, स्थित बडहरे पाटी गाउँमा एउटा साधारण परिवारमा गङ्गा सोनाम जन्मिइन्। उनी बुवा ध्रुव सोनाम र आमा सीता सोनामका कान्छी सन्तान हुन्। अहिले गङ्गा २० वर्ष पुगिसकेकी छन्। गाउँकै श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा पढ्दै उनले कक्षा १२ सम्मको अध्ययन पूरा गरिन्।

बाल्यकालदेखि नै सङ्गीतप्रतिको उनको मोह स्पष्ट थियो। गीत गुनगुनाउने, विद्यालयमा हुने साङ्गीतिक कार्यक्रमहरूमा भाग लिने काम उनले सानो उमेरमै सुरु गरिन्। घरमै साङ्गीतिक वातावरण भएकाले पनि यो रुचि बढ्दै गयो। उनका दाजु दीपेन्द्र सोनाम मोडल र गायक दुवैका रूपमा स्थापित छन्। दीपेन्द्र करिब आठ वर्षदेखि गीत–सङ्गीतमा सक्रिय छन् र उनको पर्खाइ, चोखो माया, बदमास, माहुरी चिनीमा, मेरो हजुर जस्ता थुप्रै गीत चर्चित छन्। दाजुको यात्राले बहिनीलाई पनि मार्गदर्शन गर्‍यो।

चण्डेश्वरी विद्यालयमा पढ्दा दाजु गीत गाएको देखेर गङ्गा अझै प्रेरित भइन्। विद्यालयमै उनीहरूले गीत गाउँदा साथीहरूले वाही-वाही गर्थे, जसले गङ्गामा आत्मविश्वास बढायो। दाजु दीपेन्द्रले सङ्गीतमा लाग्न प्रोत्साहन मात्र गरेनन्, आफ्ना अपूरा सपनाहरू बहिनीमार्फत पूरा हुने विश्वास पनि राखे।

सङ्गीतलाई जीवनकै लक्ष्य बनाउने सङ्कल्पसहित गङ्गा केही महिनाअघि परिवारका साथमा काठमाडौँ आइन्। काठमाडौँमा दाजुले लोकप्रिय गायक तथा सङ्गीतकार रामकुमार नेपालीसँग भेट गराइदिए। भर्साइटल गायक रामकुमार नेपालीले उनलाई आफ्नो पहिलो सङ्गीत गुरुका रूपमा सिकाउने मात्र होइन, विभिन्न किसिमका गीत अभ्यास गराउँदै स्वरलाई निखारे। यही क्रममा उनले गङ्गालाई बेलबटम बोलको गीत गाउने अवसर पनि दिए। अमृत भारतीको शब्द र रामकुमारकै सङ्गीतमा बनेको यो गीतमा गङ्गासहित रामकुमार, अमृत भारती र सञ्चिता नेपालीको स्वर छ, जुन भारती पिक्चरले बजारमा ल्यायो। बेलबटम नै उनको पहिलो रेकर्डिङ भएको गीत हो, जसलाई हालसम्म २ लाख ४० हजारभन्दा बढी पटक हेरिएको/सुनिएको छ । यो गीत टिकटक र फेसबुक रिल्समा पनि निकै चलेका छ।

काठमाडौं आएको केही समयमै गङ्गाले आफ्नो प्रतिभा देखाउन ठुलो अवसर पाइन्। नेपालकै प्रतिष्ठित गायन प्रतियोगिता नेपाल आइडल को छैटौँ सिजनमा उनले अडिसन दिइन्। अडिसनमा गङ्गाले सुदूर पश्चिमेली देउडा भाका ‘डोली चढाई लैजान्या हो सुवा…’ गाइन्।

सिन्धुपाल्चोककी एक युवतीले देउडा गाउँछिन् भन्ने कुरा सुरुमा निर्णायकलाई अचम्म लाग्नु स्वाभाविक थियो। सिन्धुपाल्चोकमा प्रायः आधुनिक, काठे लोकदोहोरी र तामाङ सेलो बढी सुन्ने गरिन्छ। देउडा भने सुदूरपश्चिम प्रदेशमा प्रचलित भाका हो। यसै कारणले गङ्गाले नेपाल आइडलको स्टेजमा किन देउडा गीत गाइन् भन्ने प्रश्न उठ्न सक्छ। यसको उत्तर एउटै हो -रामकुमार नेपाली। गङ्गाले गाएको देउडा गीत रामकुमार नेपालीको दुःख र परिश्रमको परिणाम हो।

फलस्वरूप गङ्गाले सङ्गीतको कुनै सीमा हुँदैन भन्ने कुरा आफ्नो प्रस्तुति मार्फत प्रमाणित गरिन्। न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जस्ता निर्णायक उनको प्रस्तुति सुनेर छक्क परे, प्रशंसा गरे र छनोट पनि गरे।

गङ्गाको अडिसनको क्लिप सामाजिक सञ्जालमा भाइरल भयो। उनको सरल स्वभाव, लजालुपन र मौलिक स्वरले देश–विदेशका दर्शकलाई मोहित पार्‍यो। सिन्धुपाल्चोकका बासिन्दाले गर्वपूर्वक उनका भिडियोहरू सेयर गर्दै हौसला थपे।

पछि उनले तारादेवीको स्वर रहेको ‘साँघुरी बारी नि हो’ गाएर पनि थिएटर राउन्ड पार गरिन्। ‘खेलौँला देउडा’ र ‘साँघुरी बारी’ जस्ता परम्परागत भाकामा उनले देखाएको आत्मीयताले नेपाली मौलिक सङ्गीतप्रतिको प्रेम झन् गहिरो बनायो। त्यसपछिका दिनमा गङ्गाले आफ्नो स्वर र प्रस्तुति मार्फत क्रमशः दर्शक–श्रोताको मन जित्दै गइन्। धेरैले उनलाई अहिलेकी चर्चित गायिका रचना रिमालसँग तुलना गरे। निर्णायकहरूले उनलाई “भविष्यको लोक-सङ्गीतको स्वर” सम्म भने। आइडलका निर्णायक गायक न्ह्यु बज्राचार्यले पनि कार्यक्रममै गङ्गालाई रचना रिमालसँग दाँज्दै भने, “पहिले यहाँ तिमीजस्तै रचना थिइन्। तिम्रो स्वर अर्गानिक नेपालीको जस्तो छ। त्यसलाई बचाएर राख्नु!”

नेपाल आइडलजस्तो साङ्गीतिक रियालिटी शोले नेपाली सङ्गीत उद्योगमा नयाँ प्रतिभा खोज्ने र स्थापित गराउने माध्यमका रूपमा गङ्गाले आफूलाई प्रमाणित गरिन्। यस कार्यक्रममा प्रतियोगीले गायन मात्र होइन, स्टेजमा कसरी प्रस्तुत हुने, आत्मविश्वासका साथ गीत गाउने, मिडियासँग कसरी संवाद गर्नेजस्ता व्यावसायिक सीप पनि सिक्ने अवसर पाउँछन्।

लाखौँ दर्शक–श्रोताको माया, सिन्धुवासीको साथ, परिवारको सहयोग र आफ्नै अथक मेहनतका कारण गङ्गा अन्ततः नेपाल आइडल सिजन–६ की विजेता बन्न सफल भइन्। उनको जित मात्र व्यक्तिगत उपलब्धि होइन, सिन्धुपाल्चोक तथा देशकै गौरव बनेको छ।

गङ्गाको यात्रा गाउँबाट सुरु भई देशकै ठुलो रियालिटी शोको उपाधिसम्म पुगेको छ। उनले गाउँका प्रतिभाहरूलाई प्रमाणित गरिदिइन् कि, – सपना, परिश्रम र दृढताले जुनसुकै स्थानमा पुर्‍याउन सक्छ। आज उनी धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया