बनेपाको हिले-जलजलेमा कृत्रिम ताल निर्माण

नेपालखोज २०८२ भदौ १७ गते १३:०३

काठमाडाैं । धुलिखेलको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका-२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो ।

सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो स्थान पर्यटकीय गन्तव्य बनेको बताए ।

सोही ठाउँका अर्का स्थानीय बासिन्दा कृष्णप्रसाद दाहालले पर्यटकीय ताल बनेसँगै यहाँबाट बगेको पानीले तलतिर रहेको पाखो खेतबारी सिञ्चित भई उत्पादन वृद्धि हुने आशामा रहेको बताए ।

हिले जलजले पर्यटकीय ताल संरक्षण समितिका संयोजक गोपाल घिमिरेका अनुसार सुरुआती चरणमा ताल निर्माणका लागि बाँधको संरचना निर्माण गरी पानी जमाउने काम भएको छ । बाँध निर्माणसँगै बाँधस्थलमा घेराबार गर्ने र मानिस हिँडडुल गर्न स्टिलको रेलिङ निर्माण गरिएको छ ।

बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार निर्माणको जिम्मा पाएको विजय/लोटस/तेजस्वी जेभीले २०८० साल मङ्सिरदेखि काम थालनी गरी हाल अन्तिम चरणमा पुर्याएको छ । पहिलो चरणमा बाँध निर्माणका लागि निर्माण कम्पनीले पाँच करोड ८७ लाख लागतमा काम सम्पन्न गरेको हो ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार सो तालमा डुङ्गा सञ्चालन गर्ने र आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यान निर्माण गर्ने योजना छ ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब १७ करोड लागतमा यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने उल्लेख छ । रासस

प्रतिक्रिया