‘कर्मचारीको अवकाशको उमेरहदसम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएन’

नेपालखोज २०८२ भदौ १७ गते १३:४४

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेरहदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रष्ट पारेकी छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनले छलफलकै क्रममा आफूले राखेको प्रस्ताव कुनै एक कर्मचारीको स्वार्थमा केन्द्रित नभएको प्रष्ट पारेकी हुन् ।

सरकार र कर्मचारीको बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको उल्लेख गर्दै मन्त्री न्यौपानेले कर्मचारीको मनोबल कसरी उठाउन सकिन्छ भन्ने मनसायले अवकाशको उमेरहदसम्बन्धी प्रस्ताव राखेको र कसैको व्यक्तिगत स्वार्थले काम नगरेको प्रष्ट पारिन् ।

सङ्घीय निजामती विधेयक यही अधिवेशनमा जारी हुन्छ भन्ने आफूले पहिलेदेखि नै प्रतिबद्धता राखेको जिकिर गर्दै मन्त्री न्यौपानेले विधेयक जारी भएपछि प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न सहज हुने बताइन् । हरेक प्रस्तावलाई सर्वसम्मत गर्ने समितिको विगतदेखिकै परम्परा रहेको र यसपटक पनि हरेक प्रस्तावलाई सर्वसम्मतिमै टुङ्ग्याउने पहल भएको भन्दै उनले प्रस्तावमा बहुमत तथा अल्पमत गरेर टुङ्ग्याउनुपर्ने पक्षमा आफू नभएको बताइन् ।

प्रतिक्रिया