विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव

नेपालखोज २०८२ भदौ १७ गते १६:५६

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिएका छन् ।

समितिको आजको बैठकमा सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिए । उनीहरूले समितिमा विचाराधीन रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन तथा प्रहरी विधेयक तत्काल अघि बढाउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले विधेयक निर्माणमा गम्भीर बन्न आग्रह गर्दै जनप्रतिनिधिमुलक थलोबाट निर्माण भएको विधेयक प्रमाणीकरण नभई फर्कने अवस्था नआउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दुर्गा राईले विधेयक निर्माणमा विगतको जस्तो त्रुटि नहुने गरी ध्यान दिन आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले समितिले निश्चित समयसीमा किटान गरेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया