बिहीबार, पुष १०, २०८२

इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० जना बेपत्ता

नेपालखोज २०८२ भदौ १७ गते १७:१५

जकार्ता । इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् । कानून निर्माताहरूको सुविधाको विषयलाई लिएर प्रहरी विरुद्ध आक्रोश पोख्दै भएको हिंसात्मक विरोध प्रदर्शनपछि उनीहरू बेपत्ता भएको जनाइएको छ ।

गत हप्ता दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा भएको विरोध प्रदर्शन अर्धसैनिक प्रहरीले एक युवा डेलिभरी ड्राइभरको हत्या गरेको भिडियो सार्वजनिक भएपछि भड्किएको थियो । यस क्रममा कम्तीमा छ जनाको मृत्यु भएको थियो । सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट आएको थियो ।

खोजी र प्रमाणीकरणपछि २० जनाको अवस्था अझै अज्ञात छ, बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले विज्ञप्तिमा उल्लेख गरेको छ । जाभा टापुको बान्दुङ र देपोक सहरका साथै राजधानी क्षेत्रअन्तर्गत मध्य, पूर्वी र उत्तरी जकार्तामा ती व्यक्तिहरू बेपत्ता भएको समूहले जनाएको छ ।

एक घटना भने ‘अज्ञात स्थान’ मा भएको बताइएको छ । राष्ट्रिय प्रहरीले यसबारे एएफपीको प्रश्नमा तत्काल प्रतिक्रिया जनाएन । तर जकार्ताका मेट्रोपोलिटन प्रहरी प्रमुख एसेप एडी सुहेरीले सोमबार पत्रकार सम्मेलनमा भने, अगस्ट २५ यता राजधानीमा भएको प्रदर्शनमा एक हजार दुई सय ४० जना पक्राउ परेका छन् ।

देशभरका सहरहरूमा फैलिएको असन्तुष्टिपछि राष्ट्रपति प्रबोवो सुबिआन्तो सांसदका सुविधाबारे पुनर्विचार गर्न बाध्य हुनुभएको छ । उनी सत्तामा आएपछि यसअघि भएका सबैभन्दा ठूलो विरोध प्रदर्शन यिनै हुन् । मङ्गलबार संसद् अगाडि महिला समूहहरूको गठबन्धनले थप प्रदर्शन गर्ने तयारी गरिरहेको थियो । यसअघि उनीहरूले सोमबारको प्रदर्शन भने रद्द गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घले पनि प्रदर्शनका क्रममा ‘असमान बल प्रयोग’ भएको आरोपमा छानबिन गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भने, संसदीय भत्ता, मितव्ययिता उपाय र सुरक्षा बलद्वारा भएको बल प्रयोगका घटनालाई लिएर हामीले इन्डोनेसियाको हिंसा गम्भीरतापूर्वक हेरिरहेका छौँ ।

विश्वविद्यालय नजिकै झडप

सोमबार राजधानी जकार्ताभर सेना परिचालन गरिएको थियो । संसद् बाहिर सयौँ पुनः भेला भएका थिए भने अन्य सहरहरूमा पनि झडप भएको रिपोर्ट आएको छ । राष्ट्रपति प्रबोवोले अस्पतालमा घाइते प्रहरीलाई भेट्न जाँदा प्रदर्शनकारीहरूको आलोचना गर्दै र्यालीहरू साँझभित्रै सकिनुपर्ने बताएका थिए ।

बान्दुङमा प्रदर्शनकारीहरूले प्रान्तीय परिषद् भवनतर्फ मोलोटोभ ककटेल फ्याँकेपछि प्रहरीले ‘सन्दिग्ध अराजकतावादीहरू’ लाई लक्षित गर्दै अश्रुग्यास प्रहार गरेको थियो । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचम्यानले विज्ञप्तिमा भने, ‘केही प्रदर्शनकारीहरूले बान्दुङ इस्लामिक विश्वविद्यालय परिसरलाई द्वन्द्व भड्काउने केन्द्र बनाउन खोजे ।

सामाजिक सञ्जालमा भने प्रहरीमाथि क्याम्पसमा अश्रुग्यास र रबरको गोली प्रहार गरेको आरोप लगाइएको छ । तर हेन्द्राले ‘अधिकारीहरूले क्याम्पसबाट दुई सय मिटर दूरी कायम गरेका थिए, क्याम्पसभित्र गोली चलाइएको छैन’ भनेर खण्डन गरेका छन् । विश्वविद्यालय प्रशासनले पनि आफ्ना विद्यार्थीहरूले अशान्ति भड्काएको आरोप अस्वीकार गरेको छ ।

देशभर प्रदर्शन

सुमात्राको पालेम्बाङ, बोर्नियोको बानजारमासिन, जाभाको योग्याकार्ता र सुलावेसीको मकास्सरमा सयौँदेखि हजारौँसम्म प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

सुलावेसीकै गोरोन्टालो सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । थप अशान्तिको आशङ्कामा, टिकटकले शनिबारदेखि ‘केही दिनका लागि’ इन्डोनेसियामा लाइभ प्रसारण सुविधा निलम्बन गरेको छ । इन्डोनेसियामा टिकटकका प्रयोगकर्ता १० करोडभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया