शून्य समयमा सांसदको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले बाढीपहिरोजन्य प्रकोप व्यवस्थापन, सडक दुर्घटना नियन्त्रण, मधेशमा सिँचाइ तथा खानेपानीको सङ्कट समाधानलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद घनश्याम रिजालले दोलखाको मेलुम वडा ७ ठाडी पहिरी बस्ती जोखिममा परेको भन्दै तत्काल पहिरो रोकथामको व्यवस्था गरी खेतीयोग्य जमिनको संरक्षण तथा उक्त स्थानका नागरिकको जिउधनको सुरक्षा गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उक्त क्षेत्रमा वर्षात्मा जमिन भासिने र पहिरो जाने तथा हिउँदमा पनि सुक्खा पहिरो जाने र यसपालीको वर्षाले पनि सो स्थानमा रहेको मोटरबाटोलगायत खेतीयोग्य जमिनमा नराम्ररी क्षति पुर्याएको उनले बताए ।
सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसी कुवादेखि कमलबारी खण्डमा दिनहुँ सडक दुर्घटना भइरहेको भन्दै सडकखण्डलाई सुरक्षित बनाउन आवश्यक प्रवन्ध गराउन सभाअध्यक्षमार्फत सरोकारवालाको ध्यानाकर्षण गराए ।
सांसद मनरुपा शर्माले दुग्ध किसानलाई दसैँ अगाडि नै उखुको बक्यौता रकम भुक्तानी गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रेनु चन्दले बैतडीको डिलासैनी-३ गिरीबगरमा विजुलीको हाइटेन्सनमुनि थुपारिएको बालुवामा खेल्नेक्रममा १४ वर्षीय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको र पीडितले एक महिनादेखि न्याय नपाएको भन्दै उक्त घटनाको निस्पक्ष छानविन गरी पीडितलाई न्याय दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद बिष्णुबहादुर विश्वकर्माले करेन्ट लागेर बालकको मृत्युभएको घटनाबारे सत्यतथ्य छानबिनगरी दोषीलाई कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरे ।

प्रतिक्रिया