राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छ : अध्यक्ष ठाकुर

राजविराज (सप्तरी) । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताए । लोसपा सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मात्र मधेसमा आउने गरेको बताए ।
अध्यक्ष ठाकुरले भने, ‘जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट हुनुपर्छ । यसैगरी यस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत बजेट मधेसले पाउनुपर्छ । तब मात्रै यहाँको विकास हुनसक्छ ।’ मधेसमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्ने क्रममा आफू पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै उहाँले त्यस बेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन नभएको बताए ।
प्रधानमन्त्रीले ५०० ‘डिप बोरिङ’ दिने घोषणा गरे पनि कार्यान्वयन नभएको भन्दै उनले गुनासो गरे । अध्यक्ष ठाकुरले अन्न भण्डार मधेसमा भएको खडेरी र खानेपानी समस्याबारे आफ्नो पार्टीले सरकार र सदनमा आवाज उठाउने काम गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झासहित पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो । राजविराजमा बुधबार आयोजना हुने सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन उनीहरू यहाँ आइपुगेका हुन् । -रासस

प्रतिक्रिया