गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाको बिदाइ

नेपालखोज २०८२ भदौ १८ गते १५:१४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् ।

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्वपूर्ण योगदान गर्नुहुनेछ भन्ने शुभकामना समेत दिए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत दिए ।

याे अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए ।

आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरू पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया