प्रतिनिधिसभा बैठक : बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन माग

काठमाडौं । सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
दशैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गरेका हुन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्था मिलाउन ध्यानकार्षण गराए । उनले बस व्यवसायीहरुले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरुलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताए ।
सांसद शान्ति चौधरीले दशैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताइन् । उनले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताइन् ।
सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गरिन् । उनले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गरिन् ।
सांसद विनिताकुमारी सिंहले धेरै जिल्लामा लम्पी स्किन रोगले समयमा उपचारको अभावले हजाराैँ चौपायाको मृत्यु भएको भन्दै रोकथाममा ध्यान दिन आग्रह गरिन् । साथै उनले उखु किसानको समस्या सम्बोधन गर्न माग गरिन् ।
सांसद विनोदकुमार चौधरीले पनि लामो समयदेखि उखु किसानहरु आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुँदै आउनुपरेको त्यसमाथि रासायनिक मलको अभावले पनि पीडित भएको जनाउँदै यसको समस्या समाधान हुुनुपर्ने बताइन् ।
सांसद शेरबहादुर कुँवरले पनि उखु किसानको पैसा तुरुन्त भुक्तानी गर्न आग्रह गरे । सांसद सरिता भुसालले पनि उखु किसानको अनुदान नरोक्न र बाँकी रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया