किसानका समस्या समाधानमा सांसदको जोड

नेपालखोज २०८२ भदौ १८ गते १७:२०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा विभिन्न दलका सांसदहरूले समयमा भुक्तानी नपाउनु, मल नपाउने तथा अनुदान कटौती, उत्पादन भएका वस्तुले उचित बजार नपाउनुलगायत समस्याले किसानलाई निराशा बढाएको भन्दै समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सांसद रामप्रकाश चौधरीले सङ्घ तथा प्रदेशले मधेसलाई विपद् सङ्कटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि जनताले केही पाउन नसकेका भन्दै आपत्ति जनाए । सांसद चौधरीले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीलाई अनावश्यक दुःख दिएपछि उनीहरू आन्दोलनरत रहेको भन्दै कुनै पनि व्यावसाय गर्नेलाई सम्मानपूर्वक काम गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

सांसद गङ्गाराम चौधरीले उखु उत्पादन गर्ने र दूध उत्पादन गर्ने किसानहरू पीडित रहेका बताउँदै आन्दोलनरत किसानका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । समयमा मल नपाउँदा किसानहरू पीडित भएका छन् ।

सांसद प्रेम सुवालले भारत सरकारले लिपुलेकबाट चीनमा व्यापार गरेमा नेपालले राजस्व उठाउनुपर्ने बताए । भूमिगत पानीको प्रयोग बढ्दा उपत्यकाका जमिन भासिन सक्ने भन्दै समयमा नै यसलाई व्यवस्थापन गर्न आवश्यक रहेका उनले जोड दिए।

सांसद डा अमरेशकुमार सिंहले उखु किसानका समस्या समाधानमा सरकारले चासो नदिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया