‘सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छ’

नेपालखोज २०८२ भदौ १९ गते १७:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन आवश्यक रहेको उल्लेख गरे ।

सभापति देउवाले कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गरे ।

शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने बताए । उनले हरेक निकायमा इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे ।

स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै सङ्घर्षमा कर्मचारी युनियनको अग्रणी भूमिका रहँदै आएको र यसले कर्मचारीको हक हित तथा रक्षाका लागि आवाज बुलन्द गर्दै नेपालको ड्रेड युनियन आन्दोलनमा नयाँ ऊर्जा थपिएको सभापति देउवाले बताए । उनले निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको र यो ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको बताए ।

प्रतिक्रिया