तारकेश्वर गाउँपालिका–१ मा गत बुधबार राति ७० लाख रुपैयाँ नगद लुटिएकाे घटनामा प्रहरीले सुरु अनुसन्धान

नेपालखोज २०८२ भदौ १९ गते १९:५३

त्रिशूली (नुवाकोट) । यहाँको तारकेश्वर गाउँपालिका–१ स्थित सेल्डाँडामा गत बुधबार राति ७० लाख रुपैयाँ नगद लुटिएको भनेर दाबी गरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय खम्बासिंह लामाको घरमा प्रवेश गरेका अज्ञात समूहले नगद लुटेको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

घटनास्थल पुगेका प्रनाउ लामाकाअनुसार मध्ये रातमा आएका करीब छजनाको समूहले घरमा रहेका चार जनालाई नियन्त्रणमा लिएर नगद लुटेको पीडित परिवारले दाबी गरेका छन् ।

‘घटनास्थलको अध्ययन र पीडित परिवारसँगको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानमा नगद चोरी भएको घटनाको थप तथ्य आवश्यक छ’, उनले भने, ‘नगदको आयस्रोत, घटनामा संलग्न सम्भावित व्यक्तिको पहिचानलगायत सन्दर्भमा अनुसन्धान भइरहेको छ ।’

६३ वर्षीय खम्बासिंहसहित उहाँको छोरा, बुहारी र नातीको मुखमा पट्टी लगाइ हातखुट्टा बाँधेर नगद लुटिएपछि छिमेकीमार्फत उनीहरुको उद्धार गरिएको वडा नं १ का अध्यक्ष चक्र तामाङले जानकारी दिए । त्यसलगत्तै प्रहरी चौकी दाङसिंहको प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतको टोली आज अपराह्न घटनास्थल पुगेको हो ।

स्थानीयका अनुसार कृषि पेसामा आबद्ध खम्बासिंहले स्थानीय गाउँघरमा पशुचौपाया, अन्नबालीको कारोबार गर्दै आएका थिए । लुटिएको भनिएको उक्त रकम सोही माध्यमबाट सङ्कलन गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् । -रासस

प्रतिक्रिया