नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासङ्घ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राखे ।
उनले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका प्रवक्ता एवं डा प्रकाशशरण महतले दुई तिहाइ किसान कृषि पेसामा आबद्ध हुँदा पनि देशको आम्दानीमा एक चौथाइ मात्रै उपलब्धि हासिल भएको बताए ।
उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणका माध्यमबाट कम जनशक्तिको उपयोगबाट उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनमा आउने आर्थिक परिवर्तनले देशको आर्थिक समृद्धि हासिल हुने धारणा राखे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामार्फत किसानको हकहितलाई बलियो बनाउन योग्य नेतृत्व चयन गर्न शुभकामना दिए । नेपाल किसान महासङ्घको महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।

प्रतिक्रिया