नेपाली विशेषताको समाजवाद : समृद्ध नेपाल सुखी नेपाली हो : अध्यक्ष ओली

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् ।
गोदावरीमा अध्यक्ष ओलीको राजनीतिक प्रस्तावको प्रतिवेदनको विस्तृत विवरण उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गर्दै छन् । अध्यक्ष ओलीको नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, ‘नेपाली समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ । एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवद्र्धन गरिनेछ ।’
नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरिएको छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ ।
अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो, यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मनावअधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनजस्ता विषय राज्यसञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरुको बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’

प्रतिक्रिया