हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : राष्ट्रपति पौडेल

नेपालखोज २०८२ भदौ २० गते १७:४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका छन् ।

‘विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ’, राष्ट्रपति पौडेलले भने ।

देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास गर्छ भने ।

साथै, उत्तरदायी, जवाफदेही र निर्णय क्षमता अभिवृद्धिबाट आफू, देश र जनताको हितमा समर्पित हुने ऊर्जा शिक्षाले दिने उनको भनाइ थियो ।

मुलुकमा राजनीतिक परिवर्तनपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवं सूचना प्रविधि, सडक, पूर्वाधार, जलविद्युत् र ग्रामीण क्षेत्रको विकासमा प्रगति भएको बताउँदै उनले यही लोकतान्त्रिक शासन प्रणालीले निर्वाध स्वतन्त्रता मात्र होइन विकास, भरोसा र प्रगतिको उज्यालो देखाएको छ भने ।

प्रतिक्रिया