जलवायु सङ्कट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले उक्त सङ्कटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताए ।
माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा दाहालले जलवायु परिवर्तनको असरलाई पुँजीवादी विकास मोडलको असफलताको परिणामका रूपमा चित्रित गरे ।
अध्यक्ष दाहालले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा छ । यसको समाधान यदि सही ढङ्गले गर्न सकिएन भने यो सङ्कट झन् गहिरो हुँदै जानेछ ।’
उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणाकै कारण कार्बन उत्सर्जन भइरहेता पनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले व्यहोर्नुपरेको र कार्बन क्षतिपूर्तिस्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएकामा विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष दाहालले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भए पनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।

प्रतिक्रिया