सूचना, प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड

नेपालखोज २०८२ भदौ २० गते २१:१४

गण्डकी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा एवं १५औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक हुने बताए ।

देशमा जे चिजको सम्भावना छ त्यसको खोजी गरी आर्थिक उपार्जन तिर लाग्न व्यवसायीलाई आग्रह गर्दै उनले निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएको धारणा राखे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे । त्यसका लागि केन्द्रीयस्तरबाट लगानीमैत्री वातावरण सृजना गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया