लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालखोज २०८२ भदौ २१ गते १७:४८

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–११ डोक्रेनाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय मानव बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–६ बरिगाउँ बस्ने ३० वर्षीय सुनु विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका–६ महादेववेशी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ग्राम र चरेश करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–११ रामघाट बस्ने ५२ वर्षीय बिर बहादुर नेपालीलाई नियन्त्रित लागूऔषध स्पास्मो १ हजार २ सय ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सिराहाको गोलबजार नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बल्डडा बस्ने २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका–५ बस्ने ३० वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको स.७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय सिम चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६० मिलिग्राम सहित बुद्धभूमि नगरपालिका–२ गोरूसिंगे बस्ने २२ वर्षीय सुदिप घिमिरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो २ सय ९० ग्राम सहित धादिङ गजुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा.९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया