ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स । ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६ अर्ब युरो (लगभग १.८८ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज सार्वजनिक गरेका छन् । थेसालोनिकी अन्तर्राष्ट्रिय मेलाको ८९औं संस्करणमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कर छुट, पारिवारिक सहायता तथा युवा श्रमिकहरूको हितलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहनात्मक उपायहरू घोषणा गरे ।
उक्त योजनाअनुसार सबै करदाताहरूका लागि आम्दानी करमा स्थायी रूपमा दुई प्रतिशत अंकले कटौती गरिनेछ। २५ वर्षमुनिका श्रमिकहरू, जसको वार्षिक आम्दानी २० हजार युरोसम्म छ, तिनीहरूलाई कर छुट दिइनेछ । साथै, चार वा सोभन्दा बढी सन्तान भएका परिवारहरूले आम्दानी कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
मध्यम वर्गीय नागरिकहरूले पनि कर दरमा राहत पाउनेछन् भने पेन्सनप्राप्त नागरिकहरू तथा सुरक्षाकर्मीहरूको पारिश्रमिकमा वृद्धिको व्यवस्था गरिनेछ । प्रधानमन्त्री मित्सोताकिसले आर्थिक वृद्धिको निरन्तरता, कर छलविरुद्धका सुधार प्रयास र वित्तीय अनुशासनका कारण यस्ता कदमहरू सम्भव भएको उल्लेख गरे ।
यद्यपि, देशका विभिन्न सहर थेसालोनिकी र एथेन्समा केही नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै उक्त प्याकेजलाई अपर्याप्त ठानेको जनाएका छन् । प्रदर्शनकारीहरूले भ्रष्टाचारसम्बन्धी केही घटना र विगत वर्ष भएको रेल दुर्घटनाप्रति सरकारको प्रतिक्रिया प्रति असन्तुष्टि व्यक्त गरेका थिए । -रासस/सिन्ह्वा








प्रतिक्रिया