इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौं घाइते

जाकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधिकारी मोहमद आदम हमदानीले जानकारी दिएका हुन् । उक्त भवनमा करिब सय जना मानिस, मुख्यतः महिला, पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा कुरान पाठका लागि भेला भएका थिए । सोही समयमा भवन अकस्मात् ढलेको बताइएको छ ।
‘प्रारम्भिक विवरण अनुसार ८४ जनाको उपचार भइरहेको छ र ३ जनाको ज्यान गएको पुष्टि भएको छ,’ अधिकारी आदमले बताए । उनका अनुसार भवन सामुदायिक सभा तथा धार्मिक कार्यक्रमको लागि प्रयोग गरिन्थ्यो । अत्यधिक भिडका कारण भवनको संरचना कमजोर भएर भत्किएको अनुमान गरिएको छ । ‘शायद भवनको संरचना बलियो थिएन, तर मानिसहरू अत्यन्त उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए,’ उनले भने ।
भवन भित्र रहेका सबै व्यक्तिको खोजी सकिएको बताइएको छ । अधिकांश घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको र उनीहरू सामान्य चोटपटकबाट प्रभावित भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा वर्षा भएको थिएन र कुनै भूक्षय (पहिरो) को लक्षण पनि देखिएको थिएन । इन्डोनेसियामा कमजोर निर्माण मापदण्डका कारण भवन दुर्घटनाको समस्या बारम्बार उठ्दै आएको छ ।
सन् २०२२ मा दक्षिण कालिमन्तानमा तीन तल्ले पसल भवन ढल्दा पाँच जनाको मृत्यु भएको थियो । त्यसअघि पनि जाकार्तामा पाँच तल्ले भवनको एक भाग भत्किँदा दुईजना घाइते भएका थिए । सन् २०१८ मा जाकार्ताको पूर्वी क्षेत्रमा रहेको चिरेबोनमा संगीत अभ्यास गरिरहेका किशोरकिशोरीसहित ७ जनाको ज्यान गएको थियो । सोही वर्ष जाकार्तामा रहेको सेयर बजार भवनको माथिल्लो तलाको भाग खस्दा ७५ जना घाइते भएका थिए । -रासस/एएफपी








प्रतिक्रिया