माइतीघरमा जेनजी पुस्ताको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जेनजी पुस्ताको विरोध प्रदर्शन सुरु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको आह्वानमा माइतीघरमा शान्तीपूर्ण प्रदर्शन शुरु भएको हो ।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध उत्तेजक राजनीतिक नारा समेत लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
प्रदर्शनरत जेनजीहरुको सुविधाका लागि काठमाडौं महानगरले प्रदर्शनस्थलमा निशुल्क घुम्ति शौचालयको व्यवस्था गरिदिएको छ । त्यस्तै उनीहरुको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रतिक्रिया