नौ सय बढी व्यवसायीलाई नापतौल इजाजतपत्र प्रदान

नेपालखोज २०८२ भदौ २३ गते १८:२७

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ९१७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई व्यावसायिक कारोबारका लागि नापतौल यन्त्र सञ्चालन गर्न इजाजतपत्र प्रदान गरेको छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछाप गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ती जिल्लाका व्यवसायीलाई सो नयाँ नापतौल इजाजतपत्र प्रदान गरेको हो ।

साथै सो कार्यालयले पाँचै जिल्लामा नापतौलमा अनियमितता गरेकाहरुलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षण र नापतौल यन्त्रको इजाजत दिएको सो कार्यालयले जनाएको छ । नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगराउने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाहीका साथै जरिवाना गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले बताए ।

प्राप्त विवरणअनुसार सो अवधिमा दुई हजार ६३० जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । त्यसैगरी सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका एवं सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको छ । उक्त अवधिमा कार्यालयले विभिन्न शीर्षकबाट रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०८०÷८१ मा उक्त कार्यालयले रु ४० लाख ६७ हजार दुई ४२ राजस्व सङ्कलन गरेको थियो । -रासस

प्रतिक्रिया