सत्ता परिवर्तनपछि ओलीको पहिलो प्रतिक्रिया : ‘मेरो जीवनको मूल उद्देश्य व्यवस्था जोगाउनु हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । शिवपुरीस्थित सुरक्षाघेराभित्र बसेर जेन–जी पुस्तालाई सम्बोधन गर्दै उनले आफ्नो जीवनको मूल उद्देश्य व्यवस्था जोगाउनु रहेको बताएका छन् ।
ओलीले आन्दोलनका क्रममा भएको गोलीकाण्डमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती घटनाले आफूलाई गहिरो पीडा दिएको उल्लेख गरे। ‘प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरो लागि धेरै कुरा सकिएका छन्,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीले आफ्नो राजनीतिक यात्रामा सधैं शान्तिको पक्षमा उभिएको दाबी गर्दै २०५१ सालमा गृहमन्त्री हुँदा राज्यको तर्फबाट एक थान पनि गोली नचलेको स्मरण गराए । उनले भने, ‘समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता मैले सधैं राखेँ। हिंसाले समाधान दिन सक्दैन ।’
उनले दोस्रो दिनको आन्दोलनमा भएको तोडफोड, आगजनी र कैदी उच्छृंखलनलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भने । ‘जेन–जीका कोमल हातहरूले त्यस्तो गरेको होइन, तर तिमीहरूको अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भएको हो,’ ओलीको भनाइ थियो ।
ओलीले आफू स्वभावैले जिद्दी रहेको बताउँदै लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूभाग भएको अडान, भगवान् श्रीरामको जन्म नेपालमै भएको दाबी तथा सामाजिक सञ्जाल सूचीकरणको प्रसङ्गलाई उदाहरण दिए । ‘यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले धेरै अवसर पाउँथे, तर मैले सधैं राष्ट्रलाई प्राथमिकता दिएँ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले व्यवस्थामाथि कुनै सम्झौता स्वीकार्य नभएको प्रष्ट पार्दै भने, ‘मेरा लागि पद वा प्रतिष्ठा भन्दा ठूलो कुरा यो व्यवस्था हो। बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिने यो व्यवस्था बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो । ‘

प्रतिक्रिया