अन्तरिम सरकार शीघ्र गठन गर्न मानव अधिकार तथा शान्ति समाजको आग्रह

नेपालखोज २०८२ भदौ २६ गते १०:०८

काठमाडौं । जेन जीद्वारा आह्वान गरिएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलतापछि मुलुकमा उत्पन्न तरल राजनीतिक अवस्थालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजले शीघ्र अन्तरिम सरकार गठन गर्न आग्रह गरेको छ।

समाजकी सभापति रेनुका पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा आन्दोलन नेपालको इतिहासमा अभूतपूर्व रहेको उल्लेख गर्दै आन्दोलनका क्रममा भदौ २३ गते भएको गोलीकाण्डप्रति पुनः गहिरो दुःख प्रकट गरिएको छ। उक्त दिन तत्कालीन सरकारले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १९ जना युवाको मृत्यु भएको थियो।

शान्ति समाजले आन्दोलन सफल भए पनि सार्वजनिक सम्पत्तिमा भएको क्षति, केही सञ्चारमाध्यममा तोडफोड र आगजनी जस्ता घटनालाई दुर्भाग्यपूर्ण भन्दै निन्दा गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको सफलतापछि देशमा सरकारविहीनता र प्रशासनिक अव्यवस्था देखिएको छ। झण्डै कानुन विहिनताको अवस्थामा नेपाली सेनाको पहल उल्लेखनीय भए पनि रिक्तता दीर्घकालीन रुपमा घातक बन्न सक्छ। तसर्थ, राष्ट्रपति मार्फत शीघ्र अन्तरिम सरकार गठन हुन आवश्यक छ।’

समाजले जेन जी आन्दोलनको मूल उद्देश्य भ्रष्टाचार विरोध र स्वतन्त्रताको पक्षमा रहेको भन्दै भ्रष्टाचारमा संलग्न शीर्ष नेताहरूमाथि कानूनी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएको छ। लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि कुठाराघात गर्ने कुनै पनि कदम अस्वीकार्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

शान्ति समाजले अन्तरिम सरकारको मुख्य दायित्वमा सार्वजनिक सम्पत्ति र नागरिकको सुरक्षासँगै कानुन र व्यवस्थाको पुनःस्थापना, अहिंसा र सहिष्णुताको प्रवर्द्धन, पुनर्निर्माण तथा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु पर्ने उल्लेख गरेको छ।

संविधान लागू भएको एक दशक पुगेको सन्दर्भमा समाजले संसोधनको बहस निरन्तर रहने विषय भए पनि त्यसको जिम्मेवारी आगामी निर्वाचनपछि गठन हुने संसद्को हुने स्मरण गराएको छ।

प्रतिक्रिया