शनिबार, मंसिर २७, २०८२

जितिया पर्वको तयारीमा मिथिलानी

नेपालखोज २०८२ भदौ २७ गते ११:३१

महोत्तरी । राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले जितिया पर्वको तयारी थालेका छन् । निषेधाज्ञा र कर्फ्यूका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी सुरु गर्छन् । यसपक्षको अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व यसपटक आगामी आइतबार (पर्सी) परेको छ । मिथिलामा यो पर्व पौराणिक र पारम्परिक महत्वको मानिन्छ ।

‘पर्व आइसक्यो, तर कर्फ्यू अर्झ हटेको छैन, सरसामान जुटाउन हाटबजार आउजाउ गर्न अझै सहज भइसकेको छैन’, जलेश्वर–५ चौरियाकी बासिन्दा पेसाले शिक्षक नायडु तिवारी भने, ‘हामीलाई भने पर्वले छोपी सकेको छ ।’

‘जितिया पावनी बड भारी’ (जितिया पर्व कठिन छ) मिथिलामा कठोर व्रत परम्पराको परिचय बनाएको यो पर्वका लागि मिथिलानी पितृपक्ष सुरु हुनासाथै आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्छन् । असोज कृष्णपक्षको पितृपक्ष सुरु हुनासाथै आम मिथिलानीबीच हुने भलाकुसारीमा जितियाकै तयारीको चर्चा हुन्छ । यो पक्ष सुरु हुनासाथ मिथिलानी आफ्ना कूलपुरोहितसँग सम्पर्क गरेर व्रतको दिनको टुङ्गो गर्न व्यग्रझैँ हुन्छन् ।

सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । उपवासकै दिन रात नकटी नवमी लागेपनि एक अहोरात्र व्रत हुनैपर्ने परम्पराले भोलिपल्टको सूर्योदयपछिमात्र साङ्गता (समापन) गर्नमिल्ने स्थापित परम्पराले कहिलेकाहीँ यो पर्व ३६ घण्टा बढीको समेत गरिएको पाका मिथिलानी सम्झन्छन् । यसपालि यो पर्व ३१ घण्टा केही बढीको छ ।

विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिनै मैथिल परम्परा छ । यसअनुसार यसपालि आउने आइतबार बिहान ८ः४४ मिनटदेखि नै अष्टमी सुरु हुनेहुँदा सो दिन जितिया व्रत गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताए । यसअनुसार भोलि शनिबार मध्यरातदेखि सुरु हुने व्रत एक अहोरात्र र नवमी एकघडी कटाउँदा सोमबार बिहान ७ः०० बजे समापन गर्न सकिने उनको भनाइ छ । यो समय गणनाले यसपालिको व्रत ३१ घण्टा हुने झाले स्पष्ट पारे ।

प्रतिक्रिया