शुक्लाफाँटाका दुई सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाइयो

नेपालखोज २०८२ भदौ २७ गते २१:१७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ ।

संगठित रुपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आज उनीहरुलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उनले बताए । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरुले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पुर्याएका थिए ।

‘हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,’ निर्देशक बिष्टले भने ।

प्रतिक्रिया