जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

नेपालखोज २०८२ भदौ २८ गते ९:३४

दमौली (तनहुँ) । जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिए ।

तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उनले बताए । जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ । -रासस

प्रतिक्रिया