बिहीबार, पुष १०, २०८२

पाकिस्तानको पञ्जाबमा बाढी : ९७ जनाको मृत्यु, ४४ लाखभन्दा बढी प्रभावित

नेपालखोज २०८२ भदौ २८ गते १३:५६

काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पञ्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्‍याएको छ ।

बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रहरूमा हालसम्म ३९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडितहरूलाई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदैछ।

पिडिएमएले करिब १९ लाख गाईवस्तुहरूलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि सुरु भएको मौसमी वर्षा र बाढीले हालसम्म ९५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन् । यस बाढीका कारण करिब आठ हजार ४०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार ५०० भन्दा बढी गाईवस्तु नष्ट भएका छन् ।

सरकारले विस्थापित समुदायलाई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्दार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ। बाढीग्रस्त क्षेत्रहरूमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुर्नस्थापना कार्य जारी रहेको छ ।

प्रतिक्रिया