सामान्य सेवा मात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?

नेपालखोज २०८२ भदौ २८ गते १७:४०

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो ।

अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमश: सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरु संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ । मन्त्रालयअन्तर्गतका मुख्य तीनवटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित रहेको जानकारी पनि उनले दिए ।

‘बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ । मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ’, उनले भने । उनका अनुसार आगजनीबाट मन्त्रालयका २५ वटा कार पूर्णरुपमा जलेर नष्ट भएका छन् भने २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ । त्यस्तै ४० वटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिए ।

अहिले देशभरका भन्सार र कर कार्यालयहरुको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौं उपत्यका बाहिरका चार-पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ ।

‘सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन् । तर, काठमाडौँ बाहिरका धेरै वटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्’, महानिर्देशक दाहालले भने ।

उनका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगडी कर कार्यालय पूर्णरुपमा नष्ट भएका छन् । यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ ।

जतिसक्दो चाँडो सेवा पुनःसञ्चालनका लागि प्रयास भइरहेको उनले बताए ।

जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभसाइटमा साइबर आक्रमणसमेत भएको थियो । केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उनले बताए । भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन् ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ । दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँचपासलाई प्राथमिकतामा दिइएको उनले बताए ।

भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोतसाधनबाटै वस्तु जाँचपास सुरु गरिएको उनको भनाइ छ । चीनतर्फतको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन् । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताए ।

प्रतिक्रिया