डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

मुस्ताङ । आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर् याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन् ।
यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच-छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन् । यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडाच्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन् ।
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएका छैनन् । यस वर्ष मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।
डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताए । उनले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गरे।
व्यापारी घर्तीले यसवर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए । विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यसवर्ष भेडाच्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गरे । बेंसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भएत व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन, उनले भने ।
अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यसवर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाए । चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उनले बताए ।
यसैगरी, जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिए । डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडाच्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गरे । यस वर्ष जुम्लाबाट हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उनले सुनाए ।

प्रतिक्रिया