बिहीबार, पुष १०, २०८२

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नेपालखोज २०८२ भदौ २९ गते २०:२६

नाइजेरिया । नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन् ।

शनिबार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात सञ्चालक युनियनका एक अधिकारी अबुबाकर मोहम्मदले बताएका छन् ।

जन्ती बस विवाहपछि दुलहीलाई लिएर बेहुलाको घरतर्फ गइरहेको थियो । ‘जाम्फारा राज्यको फास गाउँ नजिकै पुल भत्किएको स्थानमा रोके पछि दुर्घटना भएकोले चालकले ‘ह्यान्ड ब्रेक’ प्रयोग गर्न बिर्सेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ,’ मोहम्मदले भने ।

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् । नाइजेरियामा कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण बारम्बार सडक दुर्घटनाहरू हुने गरेका छन् ।

सङ्घीय सडक सुरक्षा कार्यालयको तथ्याङ्कअनुसार नायजेरियामा गत वर्ष भएका नौ हजार ५७० दुर्घटनाहरूमा पाँच हजार ४२१ को मृत्यु भएको थियो । -रासस/एएफपी

प्रतिक्रिया