क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार यहाँ आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्यदृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘
‘जेनजी आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपुरणीय क्षति भएका छन्’’, उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउन निर्देश गर्दछु ।’
प्रजिअ सुवेदीले सरकारी कार्यालयले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आफ्नो कार्यसम्पादन गर्न आह्वान गरे । ‘तपाईँहरु कुनै पनि खालको आर्थिक अनियमिततामा संलग्न नभइकन वस्तुपरक भई कार्यसम्पादन गर्नुहुुन अनुरोध गर्दछु । सेवाग्राहीलाई कुनै खालका दुःख दिने र सास्ती दिने काम गर्नुहुन्न । कानुनी प्रक्रिया पुगेको कामलाई यो वा त्यो बाहनामा दुःख दिने काम नगर्नुहोला’, प्रजिअ सुवेदीले भने । उनले सरकारी कार्यालयले आफ्नो कार्यालय र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन अनुरोध गरे ।

प्रतिक्रिया