बिहीबार, मंसिर २५, २०८२

पहिलो महिला प्रधानमन्त्रीका अवसर र चुनौतीहरू

डा. अम्बिका शर्मा २०८२ भदौ ३० गते १०:४५

नव नियुक्त प्रधानमन्त्री श्रीमती सुशीला कार्कीको जन्म जुन ७, १९५२ मा विराटनगरको सामान्य किसान परिवारमा भएको हो। उनले राजनीति शास्त्र र कानुनमा अध्ययन गर्दै  महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट स्नातक र भारतको बनारस हिन्दु विश्व विद्यालयबाट स्नातकोत्तर गरिन् । अध्ययन पश्चात् केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न भई सन् १९७९मा कानुनी पेसामा प्रवेश गरिन । यस क्रममा सन् २००८ मा वरिष्ठ अधिवक्ता हुँदै सन् २००९ मा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रूपमा प्रवेश गरी सन् २०१० मा स्थायी न्यायाधीशको पदभार ग्रहण गरिन ।

सन् २०१६ मा उनी नेपालकी पहिलो महिला प्रधान न्यायाधीश नियुक्त भए पश्चात् उनको ध्यान अदालत सुधारमा केन्द्रित रह्यो र आफूलाई भ्रष्टाचारको विरोधीको रूपमा चिनाउन सफल भइन ।  उनको बेन्चले प्रहरी प्रमुखमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको गैर कानुनी निर्णयलाई खारेज गरिदिए पश्चात् उनी विरुद्ध महाभियोग लगाउने समेतका प्रयासहरू भयो। तर उनको यो फैसलालाई जनताले साथ दिएर उनी इतरका प्रयासलाई असफल पारियो । यसरी उनी सन् २०१७मा प्रधान न्यायाधीशको पदबाट अवकाशमा जाँदै गर्दा नेपालीका हृदयमा राम्रो छाप छोड्न सफल भएकी थिइन् ।

राजतन्त्रको अवशान पश्चात् नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरताले जरो गाडेर बसी रहेको थियो । प्रत्येक १०/१० महिनामा सरकार हरू परिवर्तन हुने। एक सरकारले अगाडी बढाएका योजना अर्को सरकारले परिवर्तन गर्ने  । राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत आफ्नो दलको स्वार्थ अनुरूप हस्तक्षेप गर्ने । अदालत र भ्रष्ट्राचार छानबिन गर्ने निकायमा आफू अनुकूलका पात्रहरूलाई मात्र नियुक्त गर्ने लगायतका कार्यबाट शासकहरू माझ चरम बेथिति रहेको पाइन्छ ।

फास्ट ट्र्याकको कार्य कहिले सकिन्छ अत्तोपत्तो छैन । कुनै राजमार्ग हरू भरपर्दो र अन्तर्राष्ट्रिय स्तरका छैनन् ।   बेरोजगारीको समस्या कहालीलाग्दो रूपमा अगाडी बढेको छ । युवाहरू राम्रो अवसरको लागि र परिवारको खर्च धान्न बिदेसिन बाध्य छन्। गाउँघरका खेत बाँझो रहन गएको छ। महँगी बढेको बढ्यै छ । कृषि प्रधान देशमा कृषि क्षेत्र नै राष्ट्रिय प्राथमिकतामा छैन । भूकम्प, महामारी, बाढी पहिरो र भ्रष्टाचारले गर्दा अर्थव्यवस्था थिलथिलो भइसकेको छ।  पर्यटन/व्यापार व्यवसाय घटेको र व्यापार घाटा बढिरहेको छ ।

यसै क्रममा एकातिर आफूले तिरेको कर वाट जम्मा भएको राज्य श्रोत माथिको ब्रम्हलूटलाई लिएर आम मानिसमा चरम आक्रोश बढी रहेको थियो भने अर्को तिर राजनीतिज्ञहरूका सन्तानहरू सामाजिक सञ्जालमा आफूले आलिसान जीवन व्यतीत गरेका दृश्यहरू निर्बाध रूपले प्रचार प्रसार गरिरहेका थिए जसको फलस्वरूप यही विषयहरूलाई लिएर युवाहरूले सामाजिक सञ्जाल मार्फत नै ठुलो आक्रोश व्यक्त गरे । विशेष गरेर जेन जी किशोर किशोरीहरूले “नेपो किड्स” लाई उनीहरूको तडक भडक जीवनका लागि राज्य कोषको दुरुपयोग भएको भन्ने आक्षेप लगाए यो क्रम बढ्दै गयो र स्वदेश तथा विदेशमा बस्ने राष्ट्रवादीहरूले यस विषयलाई लिएर जेहाद नै छेडे  ।

यस क्रममा आम नागरिकको आलोचना खेप्न नसकेर  राजनीतिका चतुर खेलाडी रहेका केपी शर्मा वली सरकारले सेप्टेम्बर ४ मा फेसबुक, ट्विटर, ह्वाट्सएप र यूट्यूब र इन्स्टाग्राम जस्ता २६ वटा सामाजिक सञ्जाल सँग सम्बन्धित एप्स हरूलाई बन्द गरिदिने हठात निर्णय गर्‍यो  । यस निर्णयले सामाजिक सञ्जालबाट आफ्ना असन्तुष्टि जनाई रहेका युवा माझ आगोमा घ्यु थापिदिने कार्य गर्‍यो ।

जसको प्रतिकार स्वरूप युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध प्रदर्शन गरे जुन प्रदर्शन माथि बर्बरता पूर्वक गोली, अश्रुग्याँस र पानीका फोहरा चलाइए र दर्जनौँ प्रदर्शनकारीको मृत्यु भयो भने सयौँको सङ्ख्यामा घाइते भए । यसको जवाफमा प्रदर्शनकारीहरू वाट ढुङ्गा मुढा, तोडफोडका साथै संसद्, सर्वोच्च अदालत, सिंहदरबार, प्रहरी स्टेसनहरू, भाटभटेनी, हिल्टन होटेल, राजनीतिज्ञहरूका घरहरू र जेलहरूमा समेत आगजनी भयो र यस क्रममा थुप्रै लुटपाटका घटना भए र यस वाट जन आक्रोश बढ्दै गयो।

नागरिक आन्दोलनलाई खिसी टिउरी गरेर गैर जिम्मेवार वक्तव्य जारी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको आँधी बेहेरी खप्न नसकेर  सेप्टेम्बर ९ मा राजीनामा दिए र उनी र उनका मन्त्रीहरू समेत बेपत्ता भए । संविधानत: नयाँ सरकारको लागि आव्हान वा राष्ट्रपति शासन लगाई आन्दोलनकारिको माग सम्बोधन गर्नुपर्नेमा सो हुन सकेन ।

वर्तमान प्रणालीबाट राज्यको अवस्था परिवर्तन हुन नसक्ने देखि युवाहरूले नागरिक सरकारको माग गर्न थाले र सो मागलाई  सेनाको मध्यस्थतामा आगामी फागुन २१गते  निर्वाचन गराउने गरी इमानदार छवि भएकी सुशीला कार्कीलाई प्रधानमन्त्रीमा चयन गरियो  ।

राज्यमा रहेका तमाम बेथितिका बिच प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै गर्दा उनको यो यात्रा भने त्यति सहज हुने देखिँदैन । सरकारी भवन हरू आगो वाट ध्वस्त छन् । जेल हरू तोड फोड र आगजनी भएका कारण कैदी वन्दीहरू जेल छोडेर हिँडेका छन् । प्रदर्शनमा मृत्यु हुने हरूको परिवारमा सहन नसकिने बज्रपात आइलागेको छ भने घाइतेहरू अस्पतालमा छटपटाइ रहेका छन्  ।

प्रधानमन्त्री सुशीला कार्की आफू इमानदार भएता पनि मन्त्रीका रूपमा चयन हुने व्यक्ति उनिबाट छनौट नहुने हुँदा मन्त्रिपरिषद्मा रहने  शक्तिशाली मन्त्रीहरूबाट कार्य गराउनु उनका लागी सहज नहुन सक्दछ । उनी आफै पार्टी राजनीतिज्ञ नभएकोले निष्पक्ष चुनावका लागि झगडालु समूहहरूलाई एकजुट पार्नु र छिटो निकासका निमित्त जेनजी समूहहरूलाई सन्तुष्ट पार्नु उनको लागी अग्नि परीक्षा सरह हुने अनुमान गर्न सकिन्छ ।

यद्यपि प्रधानमन्त्री सुशीला कार्की सँग इमानदारिता र नैतिकताको ठुलो बल रहेको छ । तपाइको यही सफा र निष्कलङ्क आचरण यस क्षणको लागि वास्तविक रूपमा राम्रो हतियार हुन सक्छ । तपाइको कार्यकालमा आन्दोलनका घाउहरू निको पार्ने, शान्ति स्थापना गर्ने, राजनीतिज्ञ र कर्मचारी तन्त्रमा रहेको चरम बेथिति उन्मुलन गर्ने, भ्रष्टाचार उन्मुलनका खातिर शक्तिशाली गैर राजनीतिक संयन्त्र तयार गर्ने  र स्वच्छ चुनाव गराई नेपाललाई स्थायित्व प्रदान गर्ने कार्यहरू भई नेपाललाई हालको अँध्यारो  दिनबाट उज्यालो तर्फ रूपान्तरण गर्न सकियोस् । शुभकामना।

प्रतिक्रिया