उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरुले उठाउने अभियान थालेका छन् ।
तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि यो अभियान थालेको बताए । उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन, वलीले भने, फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ । उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरुले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनको भनाइ छ । दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो ।
समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन ।

प्रतिक्रिया