बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

नेपालखोज २०८२ भदौ ३१ गते ९:०५

बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको जानकारी दिए । उनले भने, ‘जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ ।’

कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए । उनले भने, ‘जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि सेवाग्राहीको सङ्ख्या भने न्यून छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन् ।

सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताए । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन् । कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाका पनि सबै सेवा सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । उनले भने, आजदेखि गाउँपालिका कार्यालय खुलेको छ । पालिकाले प्रदान गर्ने सेवा सुरु भएका छन् ।

जिल्लाको सिगास गाउँपालिकामा प्रदर्शनको असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । उनले भने, जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन । गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन । नियमित रूपमा सेवा सञ्चालनमा रह्यो ।

सरकारी कार्यालयसँगै यहाँका सङ्घसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए । उनले भने, बन्द विद्यालय खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार छ ।

प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, बजार खुलेका छन् । उनले भने, जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्र्यूका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ ।

प्रतिक्रिया