जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

नेपालखोज २०८२ असोज २ गते १२:१९

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् । आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमी लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभँैसीको मलमूत्र प्रयोग गरेको बताए ।

‘पलास्टिकको बोतलमा सङ्कलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,’ उनले भने, ‘टीकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।’ टिकोट र घराम्दीमा करिब दुई सय ५० घरपरिवारको बसोबास छ । यहाँका किसानको प्रत्येक गोठमा गाईभैँसीको मुत्र सङ्कलन गरेर राखेका छन् । पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द बोतल प्रयोग गरेका हुन् ।

मल र गहुँतका लागि किसानले घरघरमा गाईभैँसी र गोरु पालेका छन् । जङलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन् । गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताए ।

‘तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,’ उनले भने, ‘मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।’

बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ । आलु र बन्दाखेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो ।

यहाँबाट वार्षिक दुई करोड भन्दा बढी मूल्यको आलु र रु। एक करोड बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका-७ का वडा सदस्यसमेत रहेका टिकोटका व्यावसायिक किसान वुद्धिविर पुनले बताए ।

टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताए ।

कार्यक्रममार्फत कसानलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताए । रासस

प्रतिक्रिया